अंक तालिकामा दोस्रो स्थानमा, बुधबार अफगानिस्तानसँग खेल्ने
हङकङलार्इ हराउँदै नेपाल एसीसी च्याम्पियन्समा छनोट (फोटो फिचरसहित)
अंक तालिकामा दोस्रो स्थानमा, बुधबार अफगानिस्तानसँग खेल्ने
सुरेश भुसाल/राजकुमार श्रेष्ठ
२२ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपाल एसीसी च्याम्पियन्सिपका लागि छानिएको छ । नेपालसँगै अफगानिस्तान, ओमान र युएर्इ पनि च्याम्पियन्सिपका लागि छानिएका छन् ।
आजको हारसँगै आयोजक मलेसिया र हङकङ भने प्रतियोगिताबाट बाहिरिएका छन् । हङकङलार्इ हराएपछि नेपाल अंक तालिकाको रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालसँगै अफगानिस्तान र ओमानको पनि समान ६/६ अंक छ । रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
नेपालले हङकङबाट सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको थियो । तर, वर्षातले करिव एक घण्टा खेल प्रभावित भएपछि डीएल बिधिका आधारमा ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो।
नेपालका लागि जित दिलाउने क्रममा पारस खड्काले कप्तानी पारी खेले । उनले ५२ बलको सामना गर्दै ४३ रन जोडी नट आउट रहे । त्यसैगरी नरेश बुढाऐरले ८६ बलको सामना गर्दै ४१ रन बनाउन सफल भए ।
कप्तान पारस खड्कासँग साझेदारी गर्दै नट आउट रहेका शरद भेसवाकरले ३३ बल खेल्दै १९ रन बटुले । त्यसैगरी ज्ञानेन्द्र मल्लले १० बल खेल्दै १५ रन जोडे । ओपनर सुवास खकुरेल २४ बलमा १६ रन बनाउँदै पभेलियन फर्के ।
हङकङका लागि इरफान अहमदले २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै ४७ रन दिएका तनविर अफजलले ४७ रन खर्चेर एक विकेट लिए । अब नेपालले बुधबार बिहान नेपाली समयअनुसार ७:४५ बजे अफगानिस्तानसँग खेल्ने छ ।
टिमको राम्रो पर्दशनले जित्यौं : कप्तान पारस
जितपछि अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले टिम प्रदर्शन राम्रो भएको बताए । फिल्डिङ सुरुवातमा राम्रो नभएपनि कमव्याक गरेको भन्दै उनले सोमपालले राम्रो बलिङ गरेको बताए ।
बसन्त रेग्मीसंगै आरिफ शेखले पनि डेब्यू खेलमा राम्रो प्रदर्शन गरेको उनले बताए । उनले व्याटिङमा सबैको योगदान रहेको बताए । पारसले भने-अब अफगानलाई हराएर उपाधि जित्ने लक्ष्य रहेको छ ।’